व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख

काठमाडौँ, १५ कात्तिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव न्यौपानेले नेपालमा रहेका हिमालको गरिमा र सुन्दरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । “नेपालमा कसरी धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ, त्यो बारे सोचौँ,” उहाँले भन्नुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई धेरै अधिकार दिएको भन्दै हिमाल नवीकरण गर्नेमा मन्त्रालयले नरोक्ने बताउनुभयो । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालको साहसिक पर्यटनको विकासमा नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पर्यटकको सेवा सुविधालाई झन् व्यवस्थित बनाउन आग्रह गर्नुभयो । “मूल्यको प्रतिस्पर्धाका नाममा पर्यटकलाई दिने सुविधालाई सम्झौता गर्न हुँदैन,” उहाँले भन्नुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाले संघले स्थापनाकालमा लिएको उद्देश्य पूरा गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने पुरस्कार घोषणा गरेको छ । संघका संस्थापक सदस्य शम्भु तामाङको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले छनोट गरेको व्यक्तिको नाम घोषणा गरेको हो । यस वर्षको स्वर्गीय कुमार खड्गविक्रम साहसिक पुरस्कार आठ हजार मिटरभन्दा माथिको १४ हिमाल आरोहण गरिसकेका मिङ्मा शेर्पा, स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठ र स्व दावा नर्बु पर्यटन पत्रकारिता पुरस्कार द राइजिङ नेपालका पत्रकार वल्लभमणि दाहाललाई प्रदान गर्ने भएको छ ।

स्व कुमारखड्ग विक्रम साहसिक पुरस्कार र स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार पाउनेलाई पदक र सम्मानपत्र तथा स्व दावानर्बु पर्यटन पत्रकारिता पुरस्कार पाउनेलाई रु २५ हजार नगदद्वारा सम्मान गरिने संघले जनाएको छ ।

पुरस्कार संघको साधारणसभाका अवसरमा प्रदान गरिने छनोट समितिका संयोजक तामाङले बताउनुभयो ।