१२६ वर्ष पुरानो दरबार हाइस्कुल पनि भत्काउन खोजिँदै

27
502

काठमाडौँ, १५ पुस। रानीपोखरी विवाद सेलाउन नपाउँदै ठिकअगाडि दरबार हाइस्कुल पनि भत्काएर नयाँ बनाउने तयारी सुरु भएको छ।

विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ मा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको हो। यसलाई २०२४ सालबाट भानु माध्यमिक विद्यालय भनिन थालेको थियो।

ऐतिहासिक महत्व बोकेको देशकै जेठो विद्यालय भत्काएर चिनियाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न लागिएको हो।

काठमाडौं महानगरपालिकामा यही पुस ३ गते बसेको बैठकले नयाँ विद्यालय भवनको नक्सा पास गरेर पुरातत्व विभाग पठाएको छ। विभागले स्वीकृति दिनेबित्तिकै १ सय २६ पुरानो विद्यालय भवन भत्काउन थालिनेछ।

‘नयाँ डिजाइन सबै सरोकारवाला निकायमा पठाएका छौं,’ शिक्षा मन्त्रालय, केन्द्रीय परियोजना कार्यान्वयन इकाई प्रमुख इमनारायण श्रेष्ठले सेतोपाटीसँग भने, ‘पुरातत्वले स्वीकृति दिनेबित्तिकै पुरानो भत्काएर नयाँ बनाउन सुरु गरिनेछ।’

चीन सरकारले २२ महिनामा निर्माण सकेर विद्यालयलाई साँचो हस्तान्तरण गर्ने योजना छ। नयाँ डिजाइनअनुसार दुईतले विद्यालय भवन चार तलाको हुनेछ। भवन निर्माणमा लाग्ने जनशक्ति र निर्माण सामग्री चीनबाटै ल्याइनेछ।

२०७२ को भुइँचालोले दरबार हाइस्कुल भवनमा क्षति पुगेको थियो। भोटाहिटीतर्फको भित्ता भत्किएको थियो भने अन्य भागमा पनि क्षति पुगेको छ।

नेपाल वास्तुविद् समाज (सोना) ले ऐतिहासिक महत्वको दरबार हाइस्कुल पुनर्निर्माणका नाममा ‘लापरबाही हुन लागेको’ भन्दै विरोध जनाएको छ। स्मारक संरक्षण ऐन २०१३ ले सय वर्षभन्दा पुराना भवनलाई ‘पुरातात्विक महत्वको सम्पदा’ मान्छ।

‘चीनले आफ्नो इच्छाअनुसार बनाएको नक्साले दरबार हाइस्कुलजस्तो सम्पदाको अस्तित्व रहँदैन,’ सोनाका उपाध्यक्ष अञ्जु मल्ल प्रधानले सेतोपाटीसँग भनिन्।

सम्पदाविद् तथा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक सुदर्शनराज तिवारी यो विद्यालय मात्र नभई सम्पदा भएकाले चीन सरकारको डिजाइनअनुसार बनाउनु गलत भएको बताउँछन्। यो भवन भत्काउनुभन्दा ‘रेट्रोफिट’ गरेर सम्पदा जोगाउनुपर्ने उनको ठहर छ।

‘विद्यालय भवनको आर्किटेक्ट डिजाइन सामान्य छ। बीचमा करिडोर छ, लहरै कोठा छन्। भुइँचालोले जे जति क्षति पुगेको छ, त्यसलाई रेट्रोफिट गर्न गाह्रो छैन, सरकारले भत्काउनभन्दा रेट्राफिटिङमा जोड दिनुपर्छ,’ प्राध्यापक तिवारीले भने।

‘चीन सरकारको इच्छाअनुसार हाम्रो सम्पदा पुनर्निर्माण गर्नु सरकारको लाचारी हो। देशकै गरिमा बोकेको यो विद्यालयलाई हामीले ऐतिहासिक धरोहरका रूपमा जोगाएर राख्नुपर्छ,’ उनले भने, ‘चीनबाट प्रस्तावित नयाँ डिजाइन पुरातत्व विभागले रोक्नुपर्छ।’

पुरातत्वविद् रामबहादुर कुँवर पनि युरोपेली शैलीमा बनेको यो विद्यालय भत्काउन नहुने बताउँछन्।

उनका अनुसार विद्यालय भवनमा खाँटी नेपाली सामग्री बज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण), इँटा र काठ प्रयोग भएका छन्। ‘यसको बनावटमा त्यतिबेलाको राणाकाल झल्कन्छ,’ उनले भने, ‘मौलिकतामा आधारित रहेर वास्तविक स्वरूपमै पुनर्निर्माण गरिनुपर्छ।’

नेपालको शैक्षिक विकासक्रममा दरबार हाइस्कुलले महत्वपूर्ण भूमिका खेलेको छ। आधुनिक इतिहासका अधिकांश महत्वपूर्ण व्यक्तित्वले प्रारम्भिक शिक्षा यही विद्यालयबाट लिएका हुन्। देशमा कतै शैक्षिक संस्था स्थापना नहुँदाको पहिलो विद्यालय भएकाले यसको ऐतिहासिक महत्व भएको पुरातत्वविद् बताउँछन्।

 

‘चीनलाई नै बनाउन दिने हो भने पनि अहिलेको आर्किटेक्ट कायम राखेर सम्पदाका रूपमा जीवित राख्नुपर्छ,’ तिवारीले भने, ‘सिंहदबार, गद्दी बैठकजस्ता भुइँचालोले क्षति पुर्याएका संरचना रेट्रोफिट भइरहेका छन् भने दरबार हाइस्कुल नहुने कारणै छैन।’

यो विद्यालय तीनधाराबाट सारेर अहिलेको ठाउँमा ल्याइएको हो। सुरुमा दरबारियाका लागि भन्दै यो विद्यालय स्थापना गरिएको थियो।

सर्वसाधारणका लागि खुला गर्दै रानीपोखरीमा स्थानान्तरण गरिएको दुई वर्षपछि संस्कृत मावि पनि सोही भवनमा राखिएको छ।

२०४२ सालमा कक्षा १० को कोठा भत्किँदा छात्रछात्रा घाइते भएका थिए। त्यतिबेला सरकारी अनुदानमा भित्री भागका दुवै तला र दुवै कौसी ढलान गरिएका थिए। माथिल्लो हल र कोठा पनि त्यहीबेला निर्माण गरिएको थियो।

२०४५ सालको भुइँचालोमा पनि आंशिक क्षति पुगेपछि केही भाग मर्मत गरिएका थिए।

यहाँ १ सय ८० विद्यार्थी र २१ जना शिक्षक, शिक्षिका छन्। भुइँचालोपछि खेल मैदानमा टहरा बनाएर पढाइ हुँदै आएको छ।सेतोपाटी