लोडसेडिङ हट्यो तर घटेन भारतसँगको परनिर्भरता

13
311

५ पुस, काठमाडौं । शहरदेखि ग्रामीण इलाकासम्म लोडसेडिङबाट मुक्त भएका छन् । प्राविधिक समस्याबाहेक चौबीसै घण्टा विद्युत उपलब्ध छ । तर, मुलुकबाट लोडसेडिङ हट्दै जाँदा बिजुलीमा भारतसँगको निर्भरता भने झन्झन् बढ्दो क्रममा छ ।

जाडोयाम सुरु भएसँगै विजुलीको माग बढेको छ भने ‘रन अफ र रिभर’ आयोजनाहरुको उत्पादन घटेको छ ।

त्यसैले विद्युत आपूर्तिका लागि विद्युत प्राधिकरणले भारतबाट आयातीत बिजुलीलाई नै बलियो स्रोत मानेको छ ।

गत वर्ष तीन सय ८५ मेगावाटसम्म भारतबाट आयात भएको थियो । यस वर्ष भने मुलुकको माग धान्न भारतबाट चार सय ७० मेगावाट आयात गर्नुपर्ने देखिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार अहिले स्वदेशी आयोजनाहरुको उत्पादन पाँच सय ८६ मेगावाट मात्र छ । भारतबाट तीन सय ९२ मेगावाट आयात भइरहेको छ ।

सुख्खायाम लाग्नासाथ भारतीय बिजुलीसँगको निर्भरता उकालो लाग्छ । स्वदेशी आयोजनाहरुले गत वर्षभन्दा कम विद्युत उत्पादन गरिरहेकाले आयात बढाउनुको विकल्प पनि छैन, सरकारसँग ।

प्राधिकरणले अत्यधिक भार पर्ने समयमा उद्योगहरुमा लोडसेडिङ गरेर उपभोक्तालाई बिजुली उपलब्ध गराइरहेको छ ।

स्वदेशी उत्पादनको ओरालो गति

कालीगण्डकी जलविद्युत आयोजना एक सय ४४ मेगावाटको हो, जसले मंसिर ०७३ मा एक सय २६ दशमलव नौ मेगावाट उत्पादन गरेको थियो । यस वर्ष भने नदीमा पानी घटेका कारण मंसिरमा एक सय चार मेगावाट मात्रै उत्पादन गर्न सक्यो ।

उक्त आयोजनाबाट मंसिरमा क्षमताभन्दा २२ मेगावाट कम विद्युत उत्पादन भयो । क्षमता झनै घटेर अहिले ८० मेगावाट मात्रै उत्पादन हुँदै आएको छ ।

अर्काे ठूलो आयोजना हो, ७० मेगावाटको मध्यमस्र्याङ्दी । उक्त आयोजनाबाट गत वर्ष हिउँदमा ५९ दशमलव सात मेगावाट उत्पादन भएको थियो । उक्त आयोजनाबाट सोमबार ४० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ ।

यस्तै, ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत आयोजनाबाट अहिले ४५ मेगावाट मात्र उत्पादन भइरहेको छ । जबकि, उक्त आयोजनाले गत वर्ष मंसिरमा ६६ दशमलव चार मेगावाट बिजुली उपलब्ध गराएको थियो ।

सुख्खायामको माग १३ सय ८० मेगावाट

प्राधिकरणले यस वर्षको सुख्खायाममा १३ सय ८० मेगावाट माग हुने आकलन गरेको छ । जल तथा ऊर्जा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भने यस वर्षको माग १६ सय ४४ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

मुलुकभरको माग करिब १२ सय ८० मेगावाट रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । जबकि, सुख्खायाममा प्राधिकरणबाट सञ्चालित आयोजनाबाट चार सय २० मेगावाट मात्रै विद्युत उत्पादन हुने आकलन छ ।

अहिले ती आयोजनाले पाँच सय ८६ मेगावाट उत्पादन दिइरहेका छन् ।

यस्तै, निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुले अहिले तीन सय ९२ मेगावाट उत्पादन गरिरहेका छन् । उक्त परिमाण सुख्खायाम बढ्दै जाँदा एक सय ६० मेगावाटमा खुम्चिने देखिएको छ ।

सरकारी र निजी दुवै आयोजनाहरुको कुल क्षमता हिउँदमा पाँच सय ८० मेगावाट मात्रै रहने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

हिउँदमा लोडसेडिङ हटाउने खाका

प्राधिकरणले स्वदेशी उत्पादन घट्दै गएपछि भारतबाट ठूलो परिमाणमा आयात गर्ने योजना बनाएको छ । भारतबाट चार सय ७० मेगावाट आयात गर्दा हिउँदमा एक हजार ५० मेगावाट आपूर्ति हुन्छ ।

अझै, तीन सय ३० मेगावाट अपुग छ, हिउँदको माग धान्न । र, औद्योगिक क्षेत्रलाई दिइने बिजुली कटौति गरेर उपभोक्ताको घरमा बत्ति बाल्ने प्राधिकरणको योजना छ ।

‘तीन सय ३० मेगावाटको ग्याप हटाउन उद्योगहरुमा लोडसेडिङ गर्नुको विकल्प छैन,’ प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्, ‘यसबाट पनि नपुगे उच्च विद्युत चुहावट हुने क्षेत्रमा केही समय लोडसेडिङ गर्नेछौं ।’

निजी क्षेत्रबाट थपिँदै ११५ मेगावाट

आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा निजी क्षेत्रले ६० वटा आयोजनाबाट चार सय ४१ मेगावाट उत्पादन गरिरहेका थिए । अहिले त्यसमा सात वटा आयोजनाको ३७ मेगावाट पनि थपिएको छ । र, निजी क्षेत्रको उत्पादन क्षमता चार सय ७८ मेगावाट पुगेको छ ।

यसबाहेक, चैतसम्ममा थप १२ वटा आयोजनाले उत्पादन थाल्ने प्राधिकरणले जनाएको छ ।

ती आयोजनाबाट एक सय १५ मेगावाट राष्ट्रिय प्रणालीमा थपिनेछ । हिउँदमा भने ती आयोजनाको उत्पादन क्षमता एक तिहाइ कम हुन्छ । चालु आवमा २७ वटा आयोजनाबाट दुई सय ५० मेगावाट थपिने प्राधिकरणको आकलन छ ।

दार्चुलाबाट ३० मेगावाट

दार्चुलाको शैल्य शिखर नगरपालिका-१ बलाँचमा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले १५ पुसदेखि परीक्षण उत्पादन थाल्ने योजना बनाएको छ । त्यससँगै राष्ट्रिय प्रसारणमा ३० मेगावाट थपिनेछ ।

प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार उक्त आयोजनाबाट १५ माघदेखि मात्र व्यावसायिक उत्पादन शुरु हुने सम्भावना छ । त्यसले हिउँदमा विद्युत आपुर्ति केही सहज हुने प्राधिकरणको अनुमान छ ।

कुलेखानी तेस्रो अनिश्चित

कुलेखानी आयोजनाको जलाशयबाट अहिले करिब ९२ मेगावाट उत्पादन हुने गरेको छ । उक्त जलाशयबाट माग उच्च भएको समयमा मात्रै विद्युत उत्पादन गरिन्छ । प्राधिकरणले सोही जलाशयबाट थप १४ मेगावाट उत्पादन गर्न लागेको छ ।

तर, उक्त योजना अगाडि सारिएको वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

यस वर्ष हिउँददेखि उक्त आयोजनालाई सञ्चालनमा ल्याउने प्राधिकरणको योजना थियो । तर, अझै अनिश्चित छ ।

आयोजना स्थलमा भएको कामको प्रगति तथा ठेकेदार कम्पनीको कार्यशैली हेर्दा यस वर्ष उक्त आयोजना सञ्चालनमा आउने सम्भावना देखिँदैन ।

 

२०७४ पुस ५गते प्रकाशित