राष्ट्रपतिलाई अश्लिल शब्द प्रयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने व्यक्ति पक्राउ

14
290

काठमाडौँ, २८ मंसिर 

सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
चक्काजाम
कार्यकर्ता पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले घण्टाघरमा आज साढे १ देखि साढे २ बजेसम्म एक घण्टा चक्का जाम गरेको छ ।
त्रिचन्द्र क्याम्पसमा विज्ञान संकाय तेस्रो वर्षका बानियाँलाई आज अपराह्न साढे १ बजे क्याम्पसबाट पक्राउ गरेको विरोधमा चक्काजाम गरिएको नेविसंघ एकाइ अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । चक्काजामका कारण उक्त सडकमा यातायात ठप्प भएको थियो । बानियाँले छ महिना अगाडि राष्ट्रपतिका बारेमा सामाजिक सञ्जालमा लेखेका थिए ।