माघे सक्रान्ति, माघी अर्थात गोरु जुधाई

ब्रजेश खनाल
नुवाकोट ,माघ १। आज माघे सक्रान्ति पर्वको अवसरमा  नुवाकोटको तीन स्थानमा चालिस हल गोरु जुधाउन लागिएको छ ।ऐतिहासिक, धार्मिक र  सामरिक   महत्व बोकेका स्थान तारुका, वेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानहरुले पालेका चालिस हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो ।
तारुकामा बीस हल गोरु जुधाईने
‘तारुकाको पौरख, नेपालको गौरव’ नारा सहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा बीस हल गोरु जुधाउन लागिएको माघे सक्रान्ती गोरु जुधाई संरक्षण सँस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिनुभयो । गोरु जुधाई प्रतियोगिताको नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतिस्पर्धाको लागी दर्ता भएका गोरुको श्रेणीमा विभाजन गरिएको छ । विशिष्ट श्रेणीमा दुई हल, (क) श्रेणीमा दश हल र (ख) श्रेणीमा आठ हल गोरु विभाजन गरिएको छ । आयोजक सस्थाका अध्यक्ष अधिकारीका अनुसार गोरुको उचाइ, मोटाइ र क्षमताको आधारमा श्रेणी विभाजन गरिएको हो । नुवाकोटको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानले पालेका गोरु जुधाउन दर्ता गरेका छन् । प्रतिस्पर्धाम बिजेता गोरुधनीलाई रु पाँच हजार र उप–विजेतालाई रु तीन हजार नगद रुपैयाँ सहित प्रमाणपत्र प्रदान गर्ने गोरु जुधाई संरक्षण सँस्थाका सल्लाहकार एंव तार्केश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले जानकारी दिनुभयो ।
“बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुका स्थित मामाघरमा आउदाँ वि.स १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिएका हौ ।” उहाँले भन्नुभयो “गोरु जुधाईलाई वि.स २०६२ देखि स्थानीय युवाको पहलमा मेला र पर्वको रुपमा मनाउन थालिएको हो ।” ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा समेत गरिएको छ । तारुकाको गोरु जुधाई जात्रा नेपालीमुलको स्पेनी ‘बुल फाइट’को रुपमा परिचित छ ।
गोरु जुधाई भिडन्तको अवलोकन गर्न मकरसक्रान्ति पर्वको दिन भएकाले धार्मिक र साँस्कृतिक, प्रतिस्पर्धाको रुपमा खेल पर्यटनको प्रवद्धनमा टेवा पुग्दै आएको स्थानीय समेत रहनुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताउनुभयो । गोरु जुधाई मेला व्यवस्थापनको लागी माघेसक्रान्ती गोरु जुधाई संरक्षण सँस्था गएको वर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । चन्दनीबारीमा आयोजित गोरु जुधाई मेला स्थलमा पार्किङस्थल, स्वच्छ खानेपानी, खाना–खाजाको प्रबन्ध उचित रहेको वडाध्यक्ष आलेमगरले बताउनुभयो । उहाँको अनुसार नेपालको पहिलो र एक मात्र गोरु जुधाई प्रतियोगितालाई सँस्कृति, परम्परा र पर्यटनसंग जोडेर विश्वभर परिचित बनेकाले यसलाई थप व्यबस्थित हुदै आएको छ । तारुकाको चन्दनीमा आयोजित गोरु जुधाई स्थलमा पुग्न पुथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट चार पाङ्ग्रे सवारीसाधनलाई दश किलोमिटरको दुुरी पार गरी महादेवफाँटमा आएर त्रिशूली नदीको पक्की पुल पारगरी नौ किमि कच्ची सडक पार गर्नुपर्नेछ । दुई पाङ्ग्रे सवारीसाधनलाई गल्छीबाट तारुकासम्म सात किमि पक्कि सडक पश्चात तारुकाघाटमा रहेको झोलुङ्गे पुल मार्फत त्रिशूली नदी पारगरी पाँच किमि कच्ची सडक मार्फत पुग्न सकिन्छ । आफ्नै सवारीसाधन नहुनेले गल्छी–देवीघाट सडक खण्डको सार्वजनिक यातायात मार्फत तारुकाघाटसम्मको यात्रा गरी एक घण्टाको पैदल दुुरीमा पुग्नसक्ने व्यवस्था छ ।
ऐतिहासिक स्थलमा वेत्रावतीमा दश हल गोरु जुधाईने
यसैबीच, मकरसक्रान्ति पर्वको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीमा पनि आज दशहल गोरु जुधाउन लागिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीमा नुवाकोट र रसुवाका किसानले पालेको दश हल गोरु जुधाउन दर्ता भएको आयोजक गोसाँईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो । प्रतिस्पर्धामा बिजेता गोरुको धनीलाई रु तीन हजार र उपबिजेतालाई रु दुई हजार ५०० नगद सहित सम्मान पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । नेपाल र भोटबीच भएको युद्ध अन्तरगत वि.स १८४९ मा भएको वेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न जोरु जुधाईलाई निरन्तरता दिएको क्लबका अध्यक्ष लबटको भनाई छ । वेत्रावतीमा वि.स २०६७ सालदेखि गोसाँईकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । वेत्रावती स्थित गोरु जुधाई स्थल पुग्न सदरमुकाम विदुरबाट दश किमि पक्कि सडक मार्फत सहज रुपमा पुग्न सक्ने व्यवस्था छ ।
पञ्चकन्यामा पनि दश हल गोरु जुध्दै
माघेसक्रान्ति पर्वको अवसरमा आज नै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्याको पिपलडाँडामा पनि दश हल गोरु जुधाउन लागिएको छ । नवप्रतिभा युवा समूहको आयोजना नुवाकोटको विभिन्न स्थानका किसानले पालेको गोरु जुधाउन लागिएको समूहका अध्यक्ष शिवहरी बिष्टले जानकारी दिनुभयो । गोरु जुधाउन थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीका किसानले सहभागि हुन आफ्नो गोरुको नाम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई रु दश हजार र दोश्रोलाई रु सात हजार नगद पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रचारप्रसार समितिका संयोजक प्रदीप दाहालको अनुसार पञ्चकन्यामा जुधाईने गोरु बाइसे÷चौबिसे राज्य सञ्चालनको समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरु लगायतका पशु÷चौपाय जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको हो । यहाँ वि.स २०७२ देखि जनकल्याण युवा समाजको सक्रियतामा नवप्रतिभा युवा समूह मार्फत गोरु जुधाई मेला चल्दै आएको छ । पञ्चकन्याको गोरु जुधाई मेला अवलोकनको लागी टोखा–छहरे सडकखण्डको छहरेबजारबाट पाँच किमि कच्चि सडकमा चार पाङ्ग्रे सवारीसाधनमा नै सजिलै पुग्न सकिन्छ । मकर सक्रान्ति पर्वको अवशरमा नुवाकोटको विभिन्न स्थान, धादिङको खाल्टे लगायतमा समेत गोरु जुधाई प्रतिस्पर्धा एंव परम्परालाई निरन्तरता दिन लागिएको छ ।
You might also like