फुलको सिजन आउदै छ, यसरी गर्नुस फुलखेती,

काठमाडौ, २० असार ।

मुलुकका ३६ जिल्लामा गरिँदै आएको व्यावसायिक पुष्प खेतीबाट वार्षिक ६७ करोड रुपैयाँको विभिन्न जातको फूल तथा फूलजन्य उत्पादन भएको तथ्यांक विभागको तथ्यांक छ ।

व्यावसायीक रूपमा फस्टाएको त छ नै, खाली रहेको घरको छतमा गमलामै फूलखेती गर्नेको संख्या पनि सहरमा बढ्दो क्रममा देखिएको छ । गमलामा फूल रोपिएका घरका संख्या र अवस्थाका बारेमा हालसम्म कुनै अध्ययन गरिएको छैन, तर उपत्यकामा कौसी बगैंचा चलाउनेहरू भने निकै सन्तुष्ट देखिन्छन् । “म त कौसीका फूलहरूसँग खेल्दै दिनको सुरुवात गर्छु, मन नै निकै आनन्दित हुन्छ,” काठमाडौं पुतलीसडककी रुद्रा भट्टराई भन्छिन्, “फूलको स्याहार सुरार, गोडमेल र पानी दिँदा एकातिर शरीरको व्यायाम पनि हुन्छ अर्कोतिर वातावरण पनि स्वच्छ बनिरहन्छ ।” दशकअघिदेखि उनले आफ्नो घरको छतको वरीपरि विभिन्न जातका फूलहरू लगाउँदै आएकी छन् । उनको कौसी बगैंचा निकै व्यवस्थित देखिन्छ । घरका सबै सदस्यले फूलखेतीप्रतिको मोहको सम्मान र सहयोग गरेकाले पनि उत्साहित भट्टराई फूललाई आफ्ना सन्तान झैं माया गर्छिन् । फूल मेला लाग्यो भने कुनै नयाँ फूलको बेर्ना पाइन्छ की भनेर कुदिहाल्ने भट्टराई परिवारसँगै जोडिएका खेम÷सुनिता कडरिया परिवारको घरको छत पनि विभिन्न जातका फूलले घेरिएका छन् । छेउकैका अन्य घरमा पनि छतको आकारअनुसार गमलामा फूल रोपेको देख्न सकिन्छ । राजधानीको बीचभागमै पर्ने क्षेत्र भएकाले पनि पुतलीसडक, न्युप्लाजा र डिल्लीबजार क्षेत्रमा खाली बारी खासै भेटिँदैन । तर, खाली छतको उपयोग गरेर फूलखेती गर्नेहरू सो क्षेत्रमा बढ्दो क्रममा देखिन्छन् । पुष्प व्यवसायीहरूको साझा संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार वर्षभरी करिब १ अर्ब ५१ करोडको पुष्प व्यापार हुन्छ । मध्ये ८० करोड रकमबराबरको कारोबार त अर्नामेन्टल र सिजनेवल फूलको हुन्छ, जुन घरको छतमा गमलामा रोप्नका लागि घरबेटीले किन्ने गर्छन् । करिब ६ सयको संख्यामा रहेका व्यावसायिक पुष्प उत्पादक र सयौं पुष्प फार्मले घरमा पुष्प खेती गर्नका लागि गमलासहित फूलका विरुवा उपलब्ध गराउने सुविधा दिएकाले पनि कौसीमा पुष्प खेती फस्टाउँदो देखिएको हो । भट्टराई र कडरिया परिवारजस्ता कौसीमा पुष्प खेती गर्ने परिवार राजधानीको कुल घरमध्ये १० प्रतिशतजतिमा हुन सक्ने अनुमान फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठको छ । आफ्नो कौसी बगैंचाको उपलब्धी शानसँग फोटो खिचेर फेसबुकमा पोष्ट गरिने क्रम बढ्नुले पनि पुष्प क्षेत्रमा बढ्दो रुचीलाई प्रतिविम्बित गरिरहेको छ । विभिन्न जातका अर्नामेन्टलदेखि सिजनेवल फूलसम्म रोपिएका घरका छतमा वर्षैभरी कुनै न कुनै जातका फूल फुलीनै रहेका हुन्छन् । “जबसम्म सहरका कौसीमा फूल फुलाउनेको संख्या बढ्दैन, पुष्प नर्सरीको व्यवसाय अघि बढ्दैन,” कसजु भन्छन्, “कौसीमा फूलखेति गर्दा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा घरमा बस्नेहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भने यसले पुष्प व्यवसायमा पनि टेवा पुग्छ ।” बढ्दो गतिमा रहेको कौसीमा गमलामा पुष्प खेती गर्ने क्रम २०७२ सालको भूकम्पपछि ठप्प रहेको बताउने उनी गत वर्षदेखि पुनः सुधारउन्मुख रहेको अनुभव गर्छन् । संस्कारका रूपमा जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने मात्र नभई पछिल्लो समयमा शुभकार्यमा उपहारका रूपमा पुष्प गुच्छा दिने प्रचलनले पुष्प क्षेत्रको महत्व बढाउँदै लगेको छ । निर्यातकोसमेत सम्भावना रहेको पुष्पखेतीको बारेमा फ्यानसँगको सहकार्यमा अध्ययन गरेको तथ्यांक विभागले ‘व्यावसायिक पुष्पखेती सर्वेक्षण–२०७२’ प्रतिवेदन सार्वजनिक गरेको थियो । तथ्यांकअनुसार हाल मुलुकभर ३६ जिल्लामा ५६१ वटा व्यवसायीले व्यावसायिक पुष्प खेती गर्दै आएका छन् भने संख्यात्मक हिसावले पुष्पखेती गरिने प्रमुख ५ जिल्लामा काठमाडौं ९२८३०, ललितपुर ९४००, मोरङ ९२३०, कास्की ९२२० र भक्तपुर ९२०० छन् । पुष्पखेती व्यवसाय सञ्चालकमध्ये २९ प्रतिशत महिला प्रमुख सञ्चालक रहेको र उनीहरूमध्ये ७७ प्रतिशत लुज फ्लावर खेतीमा रहेको प्रतिवेदनमा उल्लेख छ । तथ्यांकअनुसार ०६० सालदेखि ०७० को दशक सबभन्दा बढी संख्यामा २९९ व्यावसायिक पुष्पखेती सञ्चालनमा आएको पाइन्छ । प्रदेश संरचनाअनुसार कुल व्यावसायिक पुष्प खेतीमध्ये सबैभदा बढी प्रदेश नम्बर ३ मा ३८१ जना छन् । त्यसपछि क्रमशः प्रदेश नम्बर एक मा ६८, दुईमा ५४, पाँचमा २४, चारमा २२, सातमा १० र ६ मा २ पुष्प उत्पादक रहेको तथ्यांक छ । पुष्प उत्पादनको ५० प्रतिशत हिस्सा काठमाडौंले ओगटेको देखिन्छ भने ललितपुरले ७.१, मोरङले ४.१, कास्कीले ३.९ र भक्तपुरले ३.६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । व्यावसायिक पुष्प खेतीमा संलग्न सञ्चालक र परिवारसमेत गरी १६ सयले बिना ज्याला काम गरिरहेका छन् भने ७३४ ले ज्यालासहित रोजगारी पाएका छन् । वर्षभर ४६ हजार ८११ महिला र २५ हजार ५७४ कामदारले अस्थायी रोजगारी पाइरहेको तथ्यांक छ ।

newsagro