काठमाडौं, ४ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दैे तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।

गृहमन्त्रालयले उक्त सिफारिशउपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए ।

पन्तको हत्याको छानबिनमा ध्यान नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपरीक्षक विष्टलाई यसअघि भदौ ९ गते निलम्बन गरेको थियो । पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले चर्को आन्दोलन समेत गरेका थिए ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेकी थिइन् ।