विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रयोगमै नआई भवन जीर्ण

भोजपुर, १४ मङ्सिर  : भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत भएको स्थानीयको भनाइ छ ।

कलात्मकरूपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवा तास खेल्ने स्थल बनेको छ । भवनमा लगाइएको झ्याल ढोका निकै कलात्मक तवरबाट निर्माण गरिएका छन् । भवन करीब रु ५० लाख लागतमा निर्माण गरिएको हो ।

शुरुमा केहीमात्रामा घेराबारा गरिएको भए पनि हाल यसको अवस्था बेहाल छ । भवनमा लगाइएका सम्पूर्ण ताला फोरिएको छ भने निर्माण भएको शौचालय, स्नानकक्ष, विद्युत्को वायरिङलगायत सम्पूर्ण सामग्री तोडफोड गरिएको छ । लाखौँको लगानीमा निर्माण गरिएको भवनको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

स्थानीय सुजन उदासले भन्नुभयो, “राज्यको लाखौँ लगानीमा बनेको भवन संरक्षणविहीन छ, प्रयोगमा नआई भवन जीर्ण बन्यो, यति ठूलो लगानीमा निर्माण गरिएको भवन अहिले जुवातास खेल्ने स्थान बनेको छ ।”

करीब छ वर्षअघि तत्कालीन पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलका १६ जिल्लाको एउटै मात्र पर्यटन प्रवद्र्धनका रूपमा यो भवन निर्माण गरिएको हो । पर्यटन मन्त्रालयअन्तर्गत रु ७२ लाखको बोलपत्र आह्वान भएकामा रु ५० लाख लागतमा ठेक्का पारी कृष्ण श्रेष्ठले सो भवनको काम गर्नुभएको हो ।

त्यसयता प्रयोगमा नै नआई भवनको मर्मतका लागि रु पाँच लाख खर्च भइसकेको निर्माण व्यवसायी धीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । भवनको मर्मत उहाँले गर्नुभएको हो । अहिले बाक्लो झाडीले ढाकेको जीर्ण भवन कुनै प्रयोजनमा नआएपछि भवनका काठपात, फर्निचर तथा फलामजन्य सामान कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

लाखाँैको भवन भत्कने अवस्थामा पुग्दासमेत यसतर्फ सरोकारवाला निकायको ध्यान गएको देखिँदैन । केहीमात्रामा रेखदेख तथा सुरक्षा गर्न सके पनि राज्यको सम्पत्ति जोगिने देखिन्छ तर अहिले सो भवनमा एउटा ताला लगाउनसमेत ध्यान पुगेको छैन । केन्द्र, प्रदेश तथा स्थानीय तह कसको जिम्मामा रहने टुङ्गो नलाग्दा भवन संरक्षणमा समस्या भएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिका–१२ का वडाध्यक्ष कुमार श्रेष्ठले भन्नुभयो, “भवन जीर्ण अवस्थामा छ, अहिले दुरुपयोग भइरहेको छ, तर यसको संरक्षणमा हामीलाई आधिकारीक जिम्मेवारी नदिइएकाले संरक्षण हुन सकिरहेको छैन ।”

भोजपुर विमानस्थलबाट डेढ किलोमिटर दूरीमा पर्ने सूचना केन्द्रको भवन पर्यटकीय हिसाबले उद्गमस्थलमा रहेको छ । ऐतिहासिक टक्सार क्षेत्र, दर्जनाँै मठ मन्दिर, सुन्दर बेँसीका फाँट र हवाई उडानको मनोरम दृश्यावलोकन गर्न सकिने उक्त सूचना केन्द्रको भवन सञ्चालन हुनसके यहाँको पर्यटन फस्टाउन सक्नेमा स्थानीयवासी आशावादी देखिएका छन् ।रासस

You might also like