पर्सामा ४८ किलो गाँजा सहित दुई जना पक्राउ

18
223

वीरगञ्ज १३ पुस। पर्सामा ४८ किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उनका कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरेको हो ।

शर्मा प्रसादको कोठाबाट २३ किलोग्राम गाँजा, स्ट्यापलर, कैची लगायतका समान र गम्भीराको कोठाबाट २५ किलोग्राम गाँजा, ढक तराजु लगायतका समान बरामद गरेको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए ।

गत पुस १० गते सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक जीवन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुको घरमा छापा मारेको थियो । उनीहरु विरुद्ध अदालतबाट लागुऔषध मुद्धामा ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।