नेप्से : कारोबार रकममा ४५ प्रतिशतले कमि

0
409

मङ्सिर २५, काठमाडौं 

सोमवार नेप्से परिसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको छ । यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमि देखापरको हो । कारोबार शुरु भएको पहिलो ४० मिनेटसम्म बढेको बजार त्यसपछि भने घट्न थालेको थियो । दिनभरीको व्यापारमा शेयर बजार २ दशमलव ७४ अङ्कले घटेर १ हजार ५ सय २७ दशमलव ७५ विन्दुमा पुगेको हो ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम ४५ प्रतिशत अर्थात् रू.३८ करोड २५ लाख घटेर रू.४६ करोड ४५ लाख पुगेको हो भने कुल बजार पूँजीकरण घटेर रू.१७ खर्ब ७५ अर्बमा पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २१ अङ्कले घटेर ३ सय २१ दशमलव ९३ अङ्क पुगेको छ । उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका बाँकी समूहहरुको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू.६ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । यस वाणिज्य बैङ्कको शेयर मूल्य रू.५ ले घटेर अन्तिम मूल्य रू.२ हजार १ सय ९२ पुगेको छ । यस कम्पनीको ६ सय ५८ पटकको व्यापारमा २७ हजार ६ सय २७ कित्ता शेयर किनबेच भएको हो । प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको रू.४ करोड ७५ लाख बराबरको शेयर कारोबार भएर अन्तिम मूल्य रू.९ सय ५० पुगेको छ । एभरेष्ट बैङ्कको परिवत्र्य अग्राधिकार शेयरको शेयर मूल्य ७ दशलमव ४७ प्रतिशत बढेर अन्तिम मूल्य रू. ८ सय २० पुगेको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य भने ५ दशमलव ८० प्रतिशत घटेको छ ।

‘अन्य’ समूहको परिसूचक शून्य दशलव १ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक १ दशमलव ११ प्रतिशतले घटेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ५१, बीमाको शून्य दशमलव ३३, होटलको शून्य दशमलव ३२ र लघुवित्तको शून्य दशमलव २९ प्रतिशत घटेको हो । जलविद्युत समूहको परिसूचक शुन्य दशमलव १५, बैङ्किङको शून्य दशमलव १४ र वित्त कम्पनीको शून्य दशमलव १२ प्रतिशत घटेको छ ।

यस दिन ५२ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ८२ कम्पनीको शेयर मूल्य घटेको छ भने २३ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५७ कम्पनीको ४ हजार १ सय १ पटकको व्यापारमा ८ लाख ५६ हजार १ सय १८ कित्ता शेयर किनबेच भएको छ ।

यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५४ दशमलव ५९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो भने शून्य दशमलव ६३ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।