नारायणी नदी किनारमा सांस्कृतिक तथा व्यापारिक मेला हुने

0


गैडाकोट (नवलपरासी) १४ फागुन
नवलपरासीको गैंडाकोट नारायणी नदी किनारमा सांस्कृतिक तथा व्यापारिक मेला हुने भएको छ । लियो क्लब अफ गैंडाकोट मौलाकालिकाको आयोजनामा यही फागुन २० गतेदेखि चैत १ गतेसम्म मेलाको आयोजना गरिएको हो । गैंडाकोटको पहिचान र यहाँको गौरवको विषय जानकारी गराउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजक क्लबका अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो । गैंडाकोटको विभिन्न जातजातिका झाँकी तथा गैंडाकोटमा उत्पादन हुने वस्तुहरुलाई प्राथमिकता साथ महोत्सवमा राखिने सापकोटाको भनाइ छ । महोत्सवमा दूधजन्य पदार्थ, बैंक तथा वित्तिय संस्थाका स्टलहरु राखिने बताइएको छ । गैंडाकोटमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले सन् २०११ मा क्लबको स्थापना भएको थियो । उद्योग वाणिज्य संघ गैंडाकोट प्रवद्र्धक रहेको मेलाबाट भएको आम्दानीले एम्बुलेन्स खरिद गरिने समेत क्लबका अध्यक्ष सापकोटाले बताउनुभयो । व्यापारिक तथा स्थानीय उत्पादनका करिब एक सय ५० देखि एक सय ७५ वटासम्म स्टल रहने मेलामा प्रवेशको लागि विद्यार्थीहरुलाई ३० रुपैयाँ र अन्य नागरिकको लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलालाई विशेष गरि सांस्कृतिक मेलाको रुपमा परिणत गर्नको लागि आयोजकले मेलाको उद्घटनका दिनदेखि समापनको दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुती राखिने बताइएको छ । मेलामा खुमन अधिकारी, हेमन्त शर्मा, देवी घर्ती, रमेशराज भट्टराई, रामजी खाँड, मुना थापा मगर, जादुगर बलराम सरकार, जोगिन्दर पानवाला, मुलाको साग, कमल खत्री, शिव परियार, पशुपति शर्मा, आस्था राउत, मिलन लामा लगायतको प्रस्तुती रहने आयोजकले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । फागुन २९ गते होली पर्वको दिनलाई होली विशेष बनाउने उद्देश्य सहित उक्त दिनमा प्रमोद खरेल र भोजपुर गायक सुनील पण्डितको विशेष प्रस्तुती रहेने बताइएको छ ।

Facebook Comments