धादिङमा जिप र ट्रक ठोक्किँदा ७ जना घाइते

धादिङ, १२ साउन ।
धादिङको बाँदरे भिरमा जिप र ट्रक ठोक्किँदा ७ जना घाइते भएका छन् । काठमाडौं तर्फ गुडिरहेको ना ३ ख ३७४० नम्बरको ट्रकले विपरित दिशातर्फबाट गुडिरहेको बा १२ च ४४०८ नम्बरको जिपलाई धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर ८ स्थित बाँदरेभिरमा ठक्कर दिँदा जिप नालीमा खसेको हो । दुर्घटनामा जिपमा सवार ६ जना र ट्रकको सहचालक गरी सात जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । अनुसन्धानका लागि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको गजुरी प्रहरीले जनाएको छ ।