दुर्घटनामा तीनको मृत्यु, १० घाइते

मलेखु (धादिङ), ५ साउन ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ स्थित विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख २२९३ नंको यात्रुवाहक बस सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका वडा नं ६ का कमल ढुंगाना र सोही स्थान बस्ने सहचालक नवराज शिवाकोटी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पतालमा पठाइएको छ । घाइते सबै स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
यसैगरी चितवनबाट काठमाडौँ जाँदै गरेको बा१५च ४५२६ नंको स्कारपियो गजुरी गाउँपालिका वडा नं १ गलौदीस्थित सडकमा पल्टिँदा विष्णुकुमारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
स्कारपियामा कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मा र उहाँका श्रीमती विष्णुकुमारी शर्मासहित सवार हुनुहुन्थ्यो । विष्णुकुमारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा उहाँका छोरा शशांक शर्मा घाइते भएका छन् । गजुरी अस्पतालमा उनको उपचार भइरहेको छ । दुर्घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।