काठमाडौँ – सरकारी कर्मचारीले राज्यको ढुकुटी कुन हदसम्म खेलवाड गर्छन् भन्ने कुरा पछिल्लो दिनमा आएका केही तथ्य तथा तथ्यांकले समेत पुष्टि गरेको छ ।
घटना हो गोरखाको । गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीले रु २ करोड भन्दा बढी रकम हिनामिना गरेका छन् ।
जनताले कर तिरेर जम्मा भएको रकम हिनामिना गरेका सचिव फरार छन् । तर उनलाई खोजेर कानुनी दायरामा ल्याउने तर्फ हालसम्म कुनै प्रयास नभएकोमा स्थानीयबासीले चर्को आपत्ति समेत जनाएका छन् ।
उनको नाममा रु २ करोड भन्दा बढी रकम बेरुजु देखिएको जिल्ला समन्वय समिति गोरखाले जानकारी दिएको छ ।
गाविसको नाउँमा रहेको बैंक खाताबाट रकम झिकेको भए पनि दर्जीले सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको देखिएको हो ।
आव २०७२÷७३ र २०७३÷७४ मा वडासचिव दर्जीले भुक्तानी गरेको रकमका बिल तथा भरपाइहरु महालेखा परीक्षकको कार्यालय काठमाडौँले लेखा परीक्षणका क्रममाः फेला नपारेपछि सचिव दर्जीको नाउँमा बेरुजु देखिएको हो ।
हंशपुरका वडाध्यक्षसँग तीन दिनको घरबिदा लिएका सचिव दर्जी पाँच महिना हुँदासमेत कार्यालय फर्केका छैनन् । दर्जी गत साउन ३ गते कार्यालयबाट घरबिदामा गएका थिए ।
स्याङ्जाको साविक रापाकोट गाविस–२ खेवाङ घर भएका दर्जीको दरबन्दी इलाका हुलाक कार्यालय सौरपानी गोरखामा थियो ।
२०७० पुस १९ गते खरिदार पदमा नियुक्त भएका उनलाई हुलाक सेवामा कार्यरत रहँदै गर्दा मुच्चोक र हंशपुर गाविस हेर्नेगरी सचिवको जिम्मेवारी दिइएको थियो ।
स्थानीय विकास अधिकारी नारायण आचार्यले वडासचिव दर्जीको नाउँमा बेरुजु देखा परेकाले खोजी गरिएको बताए । उनले भने “पत्राचार गरेर सम्पर्कमा आउनु भनेका थियौँ, तर उनी सम्पर्कमा आएनन्, अब प्रहरी लगाएर भए पनि खोजी गर्छौँ ।”
सचिव दर्जीले हिनामिना गरेको रकम भुक्तान गर्न र कडा कारवाहीको माग सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।