ताप्लेजुङका३ विद्यालय पुरस्कृत

ताप्लेजुङ, १७ असार । 

ताप्लेजुङको अति दुर्गमका ३ उत्कृष्ट विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । चन्द्रोदय आधारभूत र सुनदेवी माविलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिएको हो । सर्वोत्कृष्ट इखाबुको रानी आधारभूत विद्यालयले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । ग्रामीण वातावरण विकास केन्द्र (रिड) नेपालले उक्त पुरस्कार प्रदान गरेको हो । जिल्ला शिक्षासँग मापदण्ड बनाएर विद्यालय छनोट गरिएको आयोजकले जानकारी दिए । विद्यालय, व्यवस्थापन समिति र शिक्षकहरूको मनोबल बढाउनका लागि पुरस्कार प्रदान गरिएको रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले बताए । शिक्षकतर्फ रानी आधारभूतका हस्तवीर काम्बाङ र कल्पना लिम्बू, सरस्वती माविका रनबहादुर सिंह तथा विद्यालय व्यवस्थापन समितितर्फ घुन्सा आधारभूतका अध्यक्ष हिमाली चुङदा शेर्पा र पार्वती आधारभूत तापेथोकका कुमार हेल्लोकलाई जनही नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ । स्रोत शिक्षक, विद्यालय निरीक्षक र रिड नेपालका प्रतिनिधिले शिक्षकमा भएको लगानी, बालमैत्री सिकाइ विधिलगायतका आधारमा पुरस्कार प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले बताए ।