डडेल्धुरा जिल्लामा श्रीखण्डको व्यावसायिक खेती शुरु

डडेल्धुरा १० साउन ।

डडेल्धुरा जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ ।
जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताउनुभयो । उहाँले बगरकोटमा नर्सरी स्थापना गर्नुभएको छ ।
“जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ,” उहाँले भन्नुभयो । नर्सरीमा ५०० बिरुवा उमार्नुभएका जोशीले प्रतिबिरुवा रु ३०० का दरले बिक्री गर्न थाल्नुभएको छ । उहाँले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गर्नुभएको हो । एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ । प्रतिरुखबाट रु तीन लाखसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ ।
श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय हुनुभएको छ । धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन् ।