छुवाछूतका घटना मिलापत्रमै सीमित

14
347

काठमाडौँ, १९ भदौ ।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले दलित समुदायले सदियौँदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समता फाउण्डेशन, जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनको प्रभावकारी कार्यान्वयनका लागि महिला नेतृत्वको भूमिका’ विषयको अन्तरक्रियामा मन्त्री कोइरालाले आफ्नो मन्त्रालयले हिंसामा परेका महिलालाई उद्धार गर्न सबै स्थानीय निकायमा गठन गरेको ‘एक्सन टिम’ ले छुवाछूतका घटनामा पनि अध्ययन गर्ने बताउनुभयो ।
सो अवसरमा फाउण्डेशनले छुवाछूत ऐन जारी भएको पाँच वर्षका अवधिमा ऐनको कार्यान्वयनको गहन समीक्षा गर्न सुनसरी, सप्तरी, बारा, दैलेख, कैलाली, इलाम, मकवानपुर, उदयपुर, बर्दिया र बैतडी जिल्लामा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । अध्ययनअनुसार जातीय भेदभाव तथा छुवाछूतका घटना मिलापत्रमै सीमित गर्ने, छुवाछूतसम्बन्धी जाहेरी लिन प्रहरीले आनाकानी गर्ने र अपराधलाई ढाकछोप गर्ने गरेको पाइएको छ ।