कास्की र लमजुङ जोड्ने पुल भाँचिएर बस दुर्घटना

लमजुङ, १२ साउन ।
कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्ने कास्की र लमजुङ जोड्ने पुल भाचिएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । पोखराबाट कास्कीको बिलुवावेसी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबस लमजुङको सीमाक्षेत्र रुदी खोलाको पुल तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको थियो । दुर्घटनामा एक जना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिनुभयो । बसमा करीव ३५ यात्रु सवार रहेको र अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किसकेको उहाको भनाइ छ । घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र रामबजारको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।