काबुलमा आत्मघाती आक्रमण, २४ को मृत्यु

काबुल, ९ साउन ।

पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम विस्फोटमा परी २४ व्यक्तिको ज्यान गएको समाचार छ ।
सरकारी कर्मचारी बोकेको एक बसलाई लक्ष्य गरी गरिएको यस आक्रमणमा परी २४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४२ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
अफगानिस्तानको राजधानीमा भएको यो पछिल्लो हिंसात्मक आक्रमण भएको बताइएको छ । सरकारी कर्मचारी लक्ष्य गरी गरिएको सो आत्मघाती कारबम आक्रमण पछिल्लो र शक्तिशाली भएको प्रहरीले जनाएको छ ।
बिहानको व्यस्त समयमा सरकारी कर्मचारी बोकेको सो बसलाई कारबम विस्फोटमा पारिएको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले एएफपी समाचार समितिलाई जानकारी दिनुभयो ।
यस कारबम आत्मघाती आक्रमणमा परी मारिएका र घाइते अधिकांश सर्वसाधारण र केही कर्मचारी पनि रहेका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार सोमाबार बिहान ७ बजे भएको यस आत्मघाती आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ ।
आज भएको यो आक्रमण प्रख्यात राजनीतिज्ञ तथा पूर्व सेनापति मोहमद मोहकेकको भवन नजिकै भएको थियो । सोमबार बिहान सबेरै भएको यस आक्रमणमा शुरुमा १२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १० घाइते भएका गृहमन्त्रालय स्रोतले जानकारी दिएको थियो ।