कहाँ चुके रविन्द्र मिश्र ? विवेकशील साझा राष्ट्रिय पार्टी नबन्ने निश्चित

काठमाडौं २३ मंसिर

यो चुनावमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको नारा थियो- ‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ तर, अब विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । र, समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेर थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ ।

विवेकशील साझाले जित्ने सम्भावना भएका भनिएका क्षेत्रको नतिजा आइसकेको छ । अब समानुपातिकमा ३ प्रतिशत मत आयो भने पनि राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फको हारले विवेकशीललाई दिएन ।

काठमाडौं १ मा पराजित भइसकेपछि रविन्द्र मिश्रले जारी गरेको वक्तव्यमा भनेका छन्- ‘योपटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो । समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं ।’

रविन्द्र मिश्रले देशभरिबाट समानुपातिकतर्फ ‘सोचेभन्दा बढी मत आउने’ अपेक्षा गरेको बताए पनि प्रत्यक्षतर्फ कम उम्मदेवारी दिएका कारण समानुपातिकमा सोचेजस्तो मत खसेको अनुमान गर्न सकिँदैन ।

निर्वाचनअघि अनलाइनखबरसँगको कुराकानीका क्रममा विवेकशील साझा पार्टीका अर्का संयोजक उज्जवल थापाले देशभरिबाट ८/९ लाख मत आउन सक्ने सुनाएका थिए । तर, राष्ट्रिय पार्टी बन्नका लागि थ्रेसहोल्ड कट्नेमा आफूहरु विश्वस्त रहेको उनको विश्लेषण थियो ।

तर, विवेकशील साझाले अब ३ प्रतिशत मत ल्यायो भने पनि राष्ट्रिय पार्टी नबन्ने पक्का भइसकेको छ । वाम गठबन्धनतर्फको माहौल हेदा तराजुमा समानुपातिकतर्फ ३ प्रतिशत मत खसेकोमा विश्वस्त हुने ठाउँ देखिएको छैन ।

तर, ४ महिनाको छोटो अवधिमा पार्टीलाई जनताले विकल्पको रुपमा हेरेको भन्दै मिश्रले देशभरिबाट व्यक्त सदभावलाई संगठनका बदलेर अर्को चुनावबाट देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।

फेसबुकले चुनाव जितिँदैनः प्रकाशमान

विहीबार मतदान हुँदै गर्दा अनलाइनखबरले कांग्रेस नेता प्रकाशमान सिंहसँग फेसबुक लाइभ अन्तरवार्ता गरेको थियो । त्यसबेला प्रकाशमानसिंहले फेसबुक लगायतका सामाजिक सञ्जालका भरमा मात्रै चुनाव नजितिने र ग्राउण्ड रियालिटीका आधारमा निर्वाचन जितिने बताएका थिए ।

सिंहले भनेजस्तै विवेकशील साझा पार्टीले आम जनतामा प्रत्यक्षरुपमा जाने भन्दा सामाजिक सञ्जाल र भर्चुअल दुनियाँमा बढी भर गरेको देखिन्थ्यो । चुनाबका बेलामा नेताहरु घरदैलोमा गए पनि बढीजसो भर्चुअल प्रचारमा रमाएको देखियो ।


कहाँ चुक्यो विवेकशील साझा ?

साझा पार्टीसँग एकता हुनुपूर्व उज्जवल थापाले नेतृत्व गरेको विवेकशीलले रञ्जु दर्शनालाई प्रोजेक्ट गरेर भोट ताने पनि काठमाडौंका विभिन्न वडामा उठेका अन्य उम्मेदवारहरुले २/४ सय भोट भन्दा बढाउन सकेका थिएनन् ।

साझा पार्टीले जसरी स्थानीय चुनावमा पूर्वसचिव किशोर थापा, निरुपमा यादव, डा. सूर्यराज आचार्य, रमेश महर्जन र शोभा शाक्यजस्ता प्रवुद्ध व्यक्तिलाई राजनीतिक मैदानमा उतार्‍यो, विवेकशीलले चाहिँ ‘टीन एजर्स’हरुमा बढी भर गर्‍यो ।

देशका विभिन्न भागमा बाल क्लवहरुलाई आफ्नो प्रभावमा पारेर सदस्य बनाउने रणनीति अंगीकार गरेका विवेकशीलका नेताहरुले प्रकाशमान सिंहले भनेजस्तै ‘ग्राउण्ड रियालिटी’ भन्दा बढी ‘भर्चुअल ‘रियालिटी’मा भर गरेको देखियो ।

विवेकशील साझा पार्टीका नेताहरु जति आफूलाई नयाँ र वैकल्पिक धारका नेता भएको बताउँछन्, उनीहरुको सोच त्यस्तो फराकिलो देखिन सकेन । स्थानीय चुनावका बेलामा रञ्जु दर्शनालाई उपमेयरमा उठाउने र किशोर थापालाई मेयरमा उठाउने रविन्द्र मिश्रको प्रस्ताव विवेकशीलले मानेन ।
स्थानीय चुनावलगत्तै दुई पार्टीवीच एकता गर्नुपर्नेरहेछ, तर उनीहरुले महानगरमा रञ्जु दर्शना र किशोर थापालाई छुट्टा -छुट्टैरुपमा उम्मेदवार उठाए ।

भनिन्छ, हिमाल टाढाबाट हेर्दा सुन्दर देखिन्छ, तर छेउमा पुगेपछि चिसोले खप्न सकिँदैन । विवेकशील साझा पार्टीलाई पनि टाढाबाट, विदेशबाट हेर्दा जति सुन्दर र वैकल्पिक शक्तिका रुपमा मानिसहरुले ठानेका थिए, यसको नेतृत्वमा त्यस्तो उदात्त भावना देखिएन ।

जस्तो कि कतिपय मानिसहरुले बाबुरामको नयाँशक्ति, उज्जवल थापाको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टीलाई एक भएको हेर्न चाहेका थिए । तर, उनीहरु मिल्न सकेनन् ।

विवेकशील र साझा पार्टीका नेताहरुले बाबुराम भट्टराई र वामपन्थी पृष्ठभूमिका मानिसहरुलाई आफूसँग ल्याउने रुची देखाएनन् । तर, पूर्वमाओवादी एवं नयाँशक्ति छाडेका मुमाराम खनाललाई चाहिँ पार्टीमा भित्र्याएर विवेकशील साझा पार्टीको प्रवक्त बनाइयो । भर्खरै नयाँशक्ति पार्टी छाडेका खनाल र बाबुराम भट्टराईवीच राम्रो सम्बन्ध नभएका कारण नयाँशक्ति र विवेकशील साझाको दुरी छोटिनुको साटो झनै बढ्यो ।

मुलुकलाई नयाँ विकल्प दिन्छु भनेर अघि बढेका नेताहरुले वैकल्पिक धारलाई समेत आपसमा मिलाएर अघि बढ्न नसक्नु ‘खुट्टी देख्दै पत्याइयो’ भनेजस्तो हो ।

सडकको धुलोमैलो र अव्यवस्थाको आलोचना गरेरमात्रै पुग्दैन, नयाँ नेतृत्व दिन सक्नुपर्छ भन्ने विवेकशील साझा पार्टीका नेताहरुले बुझेको देखिएन ।

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्रले सम्मानजनक मत पाए । यो उनका लागि एकप्रकारको जित नै हो । तर, यसवीचमा मिश्रले एमालेका नेता कार्यकर्तासँग आन्तरिक छलफल गर्न सकेको भए, माओवादीसँग पनि त्यसरी कुराकानी गरेको भए जित निकाल्न सक्ने थिए ।

तर, ‘टि्रक गरेर नजित्ने’ कलाहीन नीतिका कारण उनी ७/८ सय मतको झिनो अन्तरले हार्नुपर्‍यो ।

भर्खरै राजनीतिमा आएका रविन्द्र मिश्रले यो बुझ्न सकेनन् कि राजनीति भनेको विज्ञानमात्रै होइन, कला पनि हो ।

रविन्द्र मिश्रको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले धेरै खटिएको देखिएन । बरु यष्सवीचमा रञ्जु एमालेमा प्रवेश गरेको हल्ला चल्यो र त्यसको खण्डन गर्दैमा समय खर्च भयो ।

रञ्जु दर्शनाले स्थानीय चुनावमा कमाएको लोकपि्रयतालाई विवेकशील साझा पार्टीले काठमाडौं १ मा ‘क्यास’ गरेको देखिएन । किशोर थापा र निरुपमा यादवको हकमा पनि यही कुरा सत्य हो । ललितिपुरबाट रमेशक र शोभालाई पनि उनीहरुले यहाँ केन्द्रीकृत गर्न सक्थे, गरेनन् ।

साझा विवेकशीलको ध्यान सुकिला-मुकिलाहरुरुको समस्यातिर बढी केन्द्रित भयो । विदेशमा गएका छोराछोरी र नेपालमा रहेका बूढाबूढीलाई एकै ठाउँमा बस्ने वातावरण बनाउने नारालाई उनीहरुले मुख्य जो दिएर एलिट वर्गको सहानुभूति बटुलेकै हुन् । तर, काठमाडौं १ को चुनावमा सधैं प्रभाव पार्ने ‘सुकुम्वासी फ्याक्टर’ मा उनीहरुले ध्यान दिएनन् । यहाँको खोला किनारमा बस्ने सुकुम्वासीको समस्या कसरी समाधान गर्ने ? अपार्टमेन्ट बनाएर राख्ने कि ? उनीहरुलाई डोजर लगाएर हटाउने कि ? यसबारे विवेकशील साझा पार्टीले बोलेन ।

बरु यसको विपरीत सो पार्टीका नेताहरुले के ठानेका थिए भने सुकम्वासीको भोट माओवादी नेता अनिल शर्मालाई जान्छ । ग्राउण्ड रियालिटी अर्कै थियो, उनीहरुको बढी भोट माओवादीलाई हैन, प्रकाशमानलाई गयो ।

एक ढंगले भन्नुपर्दा उनीहरुले जित्ने प्रवल सम्भावना हुँदाहुँदै पनि चुनाव लड्न जानेनन् ।

उता प्रकाशमान सिंहले भने आफूमाथि ‘प्रेसर’ आएको थाहा पाउनासाथ अहोरात्र खटिए, जसले गर्दा उनले लगभग हारिसकेको चुनाव थोरै मतले भए पनि जितेर देखाए ।

हुन त विवेकशील साझाका केही नेताहरुले मिश्रको हारको दोष प्रकाशमान सिंह र माधव नेपालवीचको गोप्य साँठगाँठलाई पनि देखाउन खोजेका छन् । तर, हारको कारण आन्तरिक नै मुख्य हो, बाह्य होइन ।

छोटो समयमै विवेकशील साझा पार्टीलाई जनताले पत्याएकोमा उनीहरुमा जुनप्रकारको खुशी र एक किसिमको दम्भजस्तै देखिएको छ, त्यो भन्दा बढी गम्भिरता र दुरदर्शिता भने देखिन नसकेकै हो । उनीहरु सिक्न भन्दा पनि सिकाउन बढी उदत्त देखिए ।

मुलुकको समस्या समाधानको सूत्र आफूसँग रहेको, विदेशमा पढेर वा महंगो जागिर छाडेर ठूलो त्याग गरेको भन्ने कुरालाई उनीहरुले अलि बढी नै प्रोजेक्ट गरेर आफूहरुलाई जनताको सेवक भन्दा पनि नायक चलचित्रको ‘हिरो’ सावित गर्ने प्रयास गरे ।

अनलाइनखबरबाट