इराकी थुनामा रहेका दुई अल्जेरियाली नागरिक जेलमुक्त

अल्जेएर्स्, ३० साउन ।

आतंककारीको आरोपमा इराकी जेलमा थुनामा रहेका दुई जना दुई अल्जेरियाली नागरिकलाई १४ वर्षपछि सोमबार कारागार मुक्त गरिएको समाचार छ ।
बग्दादस्थित एक कारागारबाट मुक्त गरिएका ती दुई व्यक्तिलाई अब स्वदेश पठाइने अल्जेरियाली विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । उनीहरुलाई आफ्नो सजाय भुक्तान हुन केही महिनामात्र बाँकी रहँदा मुक्त गरिएको हो ।
गैरकानूनी रुपमा इराक प्रवेश गरेको आरोपमा जेलमा राखिएका ती नागरिकलाई सक्दो छिटो घर फर्किने बन्दोबस्त मिलाइने सो मन्त्रालयले जानकारी दिएको छ ।
अल्जेरियाका एक कूटनीतिज्ञ अब्दलकादेर मेसाहेलले गर्नुभएको पछिल्लो पटकको इराक भ्रमणको क्रममा इराकी अधिकारीहरुसँग जेलमा रहेका अल्जेरियालीको पक्राउको विषयमा छलफल गर्नु भएको थियो ।
सो छलफलका क्रममा उहाँले इराकसँग ती नागरिकको थुनाको बारेमा कुराकानी भएको थियो । उहाँको कुराकानी पछि उनीहरु केही महिनामात्र जेल जीवन बाँकी रहेको भए पनि मुक्त गरिएको बताइएको छ ।
यद्यपि अझै पनि पाँच अल्जेरियाली इराकको जेलमा रहेका छन । ती अल्जेरियाहरुलाई पनि आतंककारी समूहसँग आवद्ध भएको आरोप लगाइएको छ ।