आजबाट दशै सुरु,घरघरमा जमरा राखेर घटस्थापना मनाइदै,

23
623

काठमाडौ, ५ असोज ।

आज अश्विन शुक्ल प्रतिपदा, घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ । घटस्थापना गरेसंगै आजबाट नेपालीहरुको महानचाड बडादसैँ सुरु भएको छ ।


आज बिहानै नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव)रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज जौ रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ । आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष गौतमले बताउनुभयो ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।