आगामी असोज ३० गते प्रदेश र मंसिरको पहिलो सातामै प्रतिनिधिसभाको चुनाव गराउने निर्वाचन आयोगको तयारी

काठमाडौं, २३ असार ।

निर्वाचन आयोगले आगामी असोज ३० गते प्रदेश र मंसिरको पहिलो सातामै प्रतिनिधिसभाको निर्वाचनको तयारी थालेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताउनुभएको छ । आज शुक्रबार राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरु नियोक र जियोकले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० मा प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताउनुभएको हो ।
यादवले कानुन निमार्णकै बेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाइ नगरेको प्रती दुख ब्यक्त गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने बताउनुभएको छ । पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरुले सुझाव दिएका थिए ।