बेल्जियममा कडा सुरक्षा व्यवस्था

ब्रसेल्स, १४ असार ।

बेल्जियमको राजधानी ब्रसेल्समा गत हप्ता बम राख्ने योजना बनाइरहेको भनिएको एक जना व्यक्तिको हत्यापछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको समाचार छ ।
ब्रसेल्सस्थित एक रेल स्टेसनमा प्रहरीको कारबाहीमा ती व्यक्ति मारिएका थिए । उनीसँगै यहाँ आतङ्ककारी हमला गर्ने तयारी गरिएको भनिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।
ब्रसेल्सको प्रहरीले यहाँको रेल स्टेसनमा बम राख्ने योजना बनाइरहेको अवस्थामा प्राप्त गरेको सूचनाको आधारमा गरेको कारबाहीका क्रममा सो व्यक्ति मारिएको बताएको थियो ।
पहिला पनि आतङ्ककारीहरुले आक्रमण गरेको बेल्जियमको ब्रसेल्स सहरमा यसपटक पुनः अर्काे हमलाको खतराका कारण प्रहरीको बाक्लो उपस्थितिका साथै सुरक्षा व्यवस्था चुस्त बनाइएको बताइएको छ ।
मारिएको सो व्यक्तिको पहिचान खुलेकोले ब्रसेल्स प्रहरीले उसको निकटका कैयौँ सुराकीहरुको प्रयोग गरिरहेको छ ।
ब्रसेल्स पछिल्लो समयमा यस्तो आतङ्ककारी हमलाको उच्च जोखिममा रहेको बताउने गरिएको छ । जसका कारण प्रहरीको निकै कडा निगरानी हुने गरेको हो ।
सन् २०१६ को मार्चमा पनि बेल्जियमको राजधानी ब्रसेल्समा रहेको एक रेल स्टेसन र अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट हुँदा कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । रासस

You might also like